कालीगण्डकी करिडोर: काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार
म्याग्दी | मंसिर २२, २०८१
म्याग्दी: भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।
साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।
उहाँका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।
रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलब पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।
बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना ब्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरु रसिमा झुण्डीएर रड राख्ने प्वाल बनाएका बताउनुभयो । रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दुरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ ।
चिन र भारत जोड्ने सबैभन्दा छोटो दुरिको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसा सम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।
वि.स. २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडीरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।
यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार छ सय मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठुला ढुङ्गाले क्षति पु¥याएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

